काठमाडौं । सरकारले नौवटा विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नौ विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृति दिइएको हो।
यसैगरी, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, बालश्रम निषेध तथा नियमित गर्न बनेको विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेस हुने भएको छ।
