काठमाडौं । कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीले प्रजनन अधिकार प्रयोग गर्न पाउने भएका छन् । कारागारमा रहेका बन्दीहरूको नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने (प्रजनन) अधिकार कायम गर्न कारागार नियमावली, २०८३ मार्फत दाम्पत्य भेटघाट सुविधा ल्याइएको हो । मन्त्रिपरिषद्को ३२ असारको बैठकले नियमावली स्वीकृत गरेसँगै राजपत्रमा प्रकाशन भएको छ ।
नियमावलीअनुसार कैद सजाय भुक्तान गरिरहेका श्रीमान्–श्रीमती चिकित्सकको सिफारिसपछि निश्चित अवधिका लागि सँगै बस्ने पाउनेछन् । प्रजनन अधिकार प्रयोग गर्न चाहने कैदीबन्दीका लागि कारागार प्रशासनले छुट्टै कक्षको प्रबन्ध मिलाउनुपर्नेछ । नियमावलीको नियम २६ मा भनिएको छ, ‘प्रजनन अधिकार संरक्षणका लागि कानुनले तोकेअनुसारका बन्दीले माग गरेमा कारागार प्रशासकले चिकित्सकको सिफारिसबमोजिम निश्चित समयसम्म पतिपत्नी सँगै बस्ने व्यवस्था मिलाउनुपर्नेछ ।’
नियमावलीअनुसार पति वा पत्नीसँग महिनामा एकपटक एकान्तमा भेटघाट गर्ने अनुमति पाइनेछ । तर, यस्तो भेटघाटको निश्चित समय र अवधि भने सम्बन्धित कारागार प्रशासकले तोकेबमोजिम हुने नियमावलीमा उल्लेख छ ।तर, यसका लागि सर्त राखिएको छ । जसअनुसार सुविधा माग गर्ने बन्दी र निजका पति वा पत्नीबिच कानुनबमोजिम विवाह भएको आधिकारिक प्रमाण हुनुपर्नेछ ।
त्यस्तै, सम्बन्धित बन्दीले कारागारमा कम्तीमा ६ महिनाको कैद सजाय अनिवार्य रूपमा भुक्तान गरिसकेको हुनुपर्नेछ । कारागारभित्र बन्दीको आचरण र व्यवहार अनुशासित, शान्त र सुधारोन्मुख भएको हुनुपर्ने सर्त पनि राखिएको छ ।
महिला बन्दीले अधिकार प्रयोग गर्न चाहे कैद सजाय भुक्तान गरेर मुक्त हुँदा उमेर ४० वर्ष पुग्ने निश्चित हुनुपर्नेछ । त्यस्तै, पुरुष बन्दीको हकमा सम्बन्धित कैदी कैद सजाय भुक्तान गरेर मुक्त हुँदा उनको श्रीमतीको उमेर ४० वर्ष कट्ने निश्चित हुनुपर्नेछ ।
