पाँच पटकको ब्राजिल फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
मियामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह सीको विजेता बन्यो । ब्राजिलको ७ अंक छ । स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे ।
भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए । भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए । ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए ।
ब्राजिलका स्टार खेलाडी नेयमार ७६औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै जारी विश्वकपमा पहिलो पटक खेले । दाहिने खुट्टाको पिँडुलामा लागेको चोटका कारण उनले ब्राजिलका पहिलो दुई खेल गुमाएका थिए ।
३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १३० अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरेका छन् । ब्राजिलका लागि पछिल्ला तीन विश्वकपमा सहभागी भएका नेयमारले विश्वकपमा कुल आठ गोल गरेका छन् ।
समान ७ अंक रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्यो । मोरक्कोले हाइटीलाई ४–२ गोल अन्तरले हरायो । मोरक्को पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
