काठमाडौं । काठमाडौं बर्ड फ्लुको ‘हटस्पट’ बन्दै गएको छ । काठमाडौंमा धेरै मात्रामा बर्ड फ्लु फैलिएको अधिकारीहरुले बताएका छन् । ‘अहिले काठमाडौँ उपत्यका ‘हट स्पट’ बनेको छ । ढुक्क हुने अवस्था छैन ।’ एक अधिकारीले भने ।
सरकारले बर्ड फ्लु पुष्टि भएका जिल्लामा नियन्त्रण गर्न लागेको बताएको छ । तर, नियन्त्रण गर्न सकेको छैन ।
गत चैत्र ६ गते कोसी प्रदेशको मोरङ सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा बर्ड फ्लु पुष्टि भएको थियो । तर, नियन्त्रणमा आउनुको साटो झन फैलिदै गएकोमा अधिकारीहरुले चिन्ता जनाएका छन् ।
कोसी प्रदेशका सुनसरी, मोरङ र झापा, बागमती प्रदेशका काठमाडौँ, भक्तपुर र ललितपुरसहित चितवन र काभ्रे, मधेसका बारा र महोत्तरीमा तथा लुम्बिनीको नवलपरासी पश्चिममा बर्ड फ्लु फैलिएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले तीन महिनादेखि बर्ड फ्लु फैलिएका कारण अवस्था चिन्ताजनक रहेको बताए ।
उनका अनुसार नियन्त्रणका लागि ५ लाखभन्दा बढी कुखुरा, १० लाख ५० हजार अण्डा र २ लाख ५० हजार किलो कुखुराको दाना नष्ट गरिएको छ ।
विश्व पशु स्वास्थ्य संगठनका अनुसार ‘नोटिफायबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ । बर्ड फ्लु चराचुरुङ्गीहरूमा लाग्ने संक्रामक श्वासप्रश्वाससम्बन्धी रोग हो ।
इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने भाइरसको सङ्क्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ ।
