शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

सत्तारुढ दल रास्वपाको प्रथम महाधिवेशन आजदेखि, नेतृत्व चयन गर्न विद्युतीय मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।

पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे निर्णायक मानिने महाधिवेशनमा हजारौँ प्रतिनिधि र नेताका उपस्थिति हुँदै छन् । महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आइपुग्ने कार्यतालिका छ । शाह महाधिवेशन अवधिसम्म बस्ने तय भएको छ ।

भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो दुई बजे सभापति लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति, प्रतिनिधि तथा शुभेच्छुकहरूको स्वागतसहित कार्यक्रम सुरु हुनेछ । उद्घाटन सत्रमा पार्टीको राजनीतिक यात्रालाई समेटिएको विशेष भिडियो प्रदर्शन गरिनेछ भने थारू समुदायको सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिनेछ ।

उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ । कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देनले शुभकामना दिनेछन् ।

रास्वपाले पहिलोपटक नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ) प्रयोग गर्ने भएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिनेछ भने १० वटा मेसिन परीक्षण तथा अभ्यासका लागि छुट्याइएको छ । प्रतिनिधिहरूले मतदानअघि नै ती मेसिन प्रयोग गर्ने तरिका सिक्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज