काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसदमा देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ । एमाले सांसद गुरु बरालले राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रमपछि बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै तीन आपत्ति जनाएका हुन् ।
सांसद बरालले राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेनले राष्ट्रिय पोसाक नलगाएकोबारे आपत्ति जनाए । ‘राष्ट्रिय पोसाकको परिपालन गर्नुपर्ने हो कि होइन । सभामुखमार्फत रुलिङको माग गर्दछु,’ सांसद बरालले भने ।
त्यस्तै सांसद बरालले प्रधानमन्त्री शाह नीति र कार्यक्रमको बिचमै बहिष्कार गरेर हिँडेकोमा पनि आपत्ति जनाए । उनले प्रधानमन्त्रीको नीति र कार्यक्रमको दृष्टिकोण के हो ? भन्दै प्रश्न पनि गरे । त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर संवाद र छलफल गरेकोबारे पनि आपत्ति जनाए ।
राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका थिए।
सामान्यतया राष्ट्रपति सहभागी हुने बैठकमा राष्ट्रपति बाहिरिएपछि मात्र अन्य व्यक्तिलाई बाहिरिन सभामुखले आग्रह गर्छन्। प्रधानमन्त्री शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट उठेर हिँडेका थिए।
