काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । इशान पाण्डेले पहिलो पटक राष्ट्रिय एक दिवसीय टोलीमा मौका पाएका छन् ।
इशानले टि ट्वान्टी राष्ट्रिय टोलीबाट भने नेपालको प्रतिनिधित्व गरिसकेका छन् । पछिल्लो टोलीबाट यो पटक मात्र एक परिवर्तन भएको छ । बसिर अहमदको स्थानमा इशानलाई मौका दिइएको छ ।
रोहित पौडेलको कप्तानीमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले निरन्तरता पाएका छन् । अन्य खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट स्टेडियममा हुने आइसिसी पुरुष विश्वकप लिग टु अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डको सिरिजका लागि क्यानले टोलीको घोषणा गरेको हो । यसअघिको ओमान, युएई सम्मिलित सिरजमा नेपालले ३ खेलमा जित निकालेको थियो ।
लिग टु मा नेपाल १८ अंक सहित सातौं स्थानमा छ । अमेरिका ३६ अंक सहित पहिलो र स्कटल्याण्ड ३४ अंक सहित दोस्रो स्थानमा छ ।
