काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
‘स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।’
लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलले स्मरण गरेका छन् । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्वपूर्ण हुने उनले औल्याएका छन् । प्रेस निष्पक्ष, स्वतन्त्र र सबल भए मात्रै लोकतान्त्रिक व्यवस्था सुदृढ हुँदै जाने उनको विश्वास छ ।
