बुध, कार्तिक ५, २०८३
14.1 C
Kathmandu

कांग्रेसको क्रियाशील सदस्यता पुनः अद्यावधिक गर्न नहुने शेखर पक्षको निष्कर्ष

काठमाडोैं । डा. शेखर कोइराला पक्षले कांग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने निष्कर्ष निकालेको छ । कोइराला पक्षको बागमती प्रदेशस्तरीय भेलाले एउटै महाधिवेशनका लागि पटकपटक सदस्यता अद्यावधिकको विषय जायज नहुने निष्कर्ष निकालेको हो ।

भेलामा कोइरालाले सदस्यताको विषय पेचिलो बनेको भन्दै पुनः दोहोर्‍याएर गर्नु उचित नहुने बताएका छन् । ‘साथीहरूले १५औँ महाधिवेशनकै लागि एकपटक नवीकरण गरिसक्नुभयो । फेरि सोही प्रयोजनका लागि अद्यावधिक गर्न खोज्नु उचित होइन । यो किन भइरहेको छ, बुझ्न सकिएको छैन,’ भेलामा सहभागी एक नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘अहिलेको विषम परिस्थितिमा पार्टी एकता आवश्यक छ । त्यो काम जिम्मा लिएका साथीहरूले गर्नुपर्ने हो । तर, जसरी पहल हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’

पार्टी एक बनाएर लैजाने जिम्मेवारी पनि सभापति गगन थापाकै भएको निष्कर्ष कोइराला पक्षले निकालेको छ । छलफलमा डा. शशांक कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईं, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोख्रेल, किरण यादव, डा. चन्द्रमोहन यादव, उर्मिला थपलियालगायत नेता सहभागी थिए ।

‘छलफलमा सहभागीले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्न नहुने अडान राखेका छन् । अहिले आएर सदस्यता अद्यावधिक व्यावहारिक नभएको उनीहरूको तर्क थियो,’ कोइरालाको सचिवालयले जारी गरेको प्रेस नोटमा छ ।

भेलामा नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टीमा एकता कायम हुन नसकेको दाबी पनि गरेका छन् । पार्टी एक बनाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापतिकै रहेको उनीहरूको निष्कर्ष छ ।

सम्बन्धित समाचार

ताजा न्यूज