काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले अत्यधिक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकबाट १९बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपाले उपभोग्य वस्तु तथा सेवामा भएको अत्यधिक मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न र आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि अकासिएको कारण खाना पकाउने ग्यास, सार्वजनिक यातायातको भाडा, दैनिक उपभोग्य वस्तुहरूको मूल्य अनियन्त्रित रूपमा वृद्धि भएको नेकपाको निष्कर्ष छ।
बैठकले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि एकजुट भएर अगाडि बढ्न सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिलाई आह्वानसमेत गरेको छ।
सरकारका राम्रा कामको समर्थन र गलत कार्यहरूको प्रतिवाद गर्दै रचनात्मक एवं जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका गम्भीर र संवेदनशील विषयमा राष्ट्रिय सहमति कायम गरेर मात्र निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
