काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।
विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । बुधबार साँझ पौने ६ बजे हुरी चल्न सुरु हुने र बिहान बिहान पौने ८ बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरेर सावधानी अपनाउन आह्वान गरेको छ । सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ ।
यस्तै लड्नसक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र लत्रिको बिजुलीको तार नछुन पनि सुझाइएको छ ।
जल तथा मौसम विज्ञान विभागले पनि आज मेघगर्जन, चट्याङ, असिनासहित पानी पर्ने प्रणालीले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
