बुध, कार्तिक ५, २०८३
14.1 C
Kathmandu

सुकुमबासी बस्तीमा डोजर, हटाइएका अधिकांश होटेलमा, अपार्टमेन्टमा सार्ने योजना

काठमाडौं । देशभर अतिक्रमित सरकारी जग्गा खाली गर्न डोजर चल्ने क्रम जारी छ । काठमाडौंमा सुकुमवासी बस्तीका ७८१ घर भत्काइएका छन् । ४ सय ३२ परिवारको विवरण संकलन गरिएको छ ।

बागमती नदीकिनारका सुकुमवासी बस्ती खाली गरेपछि सरकारको सम्पर्कमा गएका अधिकांशलाई होटेलमा राखिएको छ । केही परिवार आश्रममा छन् । कैयौँ परिवार भने सरकारको सम्पर्कमै नआई आफैँ वैकल्पिक व्यवस्थापनमा लागेका छन् । सरकारले थापाथली, शान्तिनगर–तीनकुने–गैरीगाउँ–सिनामंगल र मनोहरा क्षेत्रमा दुई दिन डोजर लगाएर बस्ती खाली गरेकामा आइतबार रातिसम्मको तथ्यांकअनुसार ५२९ परिवार मात्रै सरकारको सम्पर्कमा आएका छन् ।

तीमध्ये ३२ परिवारका १४६ जनालाई कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएको छ । अन्य ४९७ परिवारलाई विभिन्न होटेलमा राखिएको छ । राखिएकै स्थानमा खाने–सुत्ने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकालका अनुसार अधिकांशलाई बालाजु–माछापोखरी क्षेत्रका होटेलमा राखिएको छ ।

ढकालका अनुसार स्थायी वासको माग गरेर सरकारको ‘स्क्रिनिङ’ प्रक्रियामा भने १८६ परिवार मात्रै गएका छन् । सरकारले दशरथ रंगशालामा ‘स्क्रिनिङ’को व्यवस्थापन गरेको छ । प्राधिकरणका प्रमुख आयुक्त ढकालले यीमध्ये १०३ परिवार थापाथली क्षेत्रका र बाँकी शान्तिनगर–तिनकुने–गैरीगाउँ–सिनामंगल र मनोहरा क्षेत्रका छन् । शनिबार थापाथली र गैरीगाउँ क्षेत्रको नदीकिनारका घर–टहरा हटाएकामा आइतबार सिनामंगल र मनोहरा क्षेत्र खाली गरेको छ ।

सरकारले बस्ती खाली गर्दा पीडितलाई मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले मनोपरामर्श सेवा पनि दिन थालेको छ । दशरथ रंगशालादेखि राखिएका ठाउँमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । आइतबार एक वृद्ध बिरामी भएपछि वीर अस्पताल लगेर उपचार गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज