बिहि, कार्तिक ६, २०८३
23.1 C
Kathmandu

रवि लामिछानेले दिए कडा चुनौती, अल भर्सेस वान, घन्टी भर्सेस अल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूबाहेक सबै राजनीतिक दललाई एउटै दल बनाएर चुनाव लड्न पुनः चुनौती दिएका छन् । २१ फागुनको निर्वाचनका लागि अब दुई साता पनि बाँकी नरहँदा रास्वपाले वारपारको राजनीतिमा जोड दिएको छ ।

रास्वपाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा लामिछानेले राजनीतिलाई ध्रुवीकरणतर्फ लगेर लाभ लिने रणनीतिक अभिव्यक्ति दिएका हुन् । ‘हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छौँ, यो विश्वास पनि जनताकै हो । निर्वाचनबाट भाग्ने होइन । कसैलाई लोकतन्त्रको पिर लाग्छ भने एउटा अफर छ–भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुहोस्,’ उनले भने, ‘अल भर्सेस वान, घन्टी भर्सेस अल । जतिवेला जनता जाग्यो, त्यतिवेलामा कचकच गर्न पाइँदैन है, कचकच गर्न पाइँदैन । शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले दिन्छ, दियोस् ।’

उनले लोकतन्त्रलाई कसैबाट खतरा नभएको बताए । ‘मान्छेहरू लोकतन्त्रलाई खतरा हुन्छ भनिरहेका छन् । जब जनता जागे, तपाईंहरूलाई बल्ल लाग्यो लोकतन्त्रलाई खतरा छ ? लोकतन्त्रलाई खतरा छ–छैन जनताले बुझेका छन्,’ उनले भने, ‘मैले पहिला पनि भनेको छु र कर्णालीमा पनि भन्छु– लोकतन्त्रलाई जुन खतरा थियो, त्यो खतरा हेलिकोप्टर चढेर भागेको छ, बस ल्यान्ड नहोस् । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकोप्टर फेरि सिंहदरबार या बालुवाटारमा ल्यान्ड हुन्छ ।

जता ल्यान्ड हुन्छ, ल्यान्ड होस्, हामीलाई भन्नु केही छैन । तर, जनताको भाग्य फेर्ने र बनाउने मात्र होइन, बदल्ने सिंहदरबारमा ल्यान्ड नहोस्, यत्ति भए पुग्छ । त्यसैले परिवर्तनको यो आगोलाई, यो झिल्कोलाई, जनताको चेतनालाई कसैले चुनौती नदियोस् । म सबैले सुन्ने गरी कर्णालीबाट भन्न चाहन्छु, लोकतन्त्रलाई खतरा छैन, हामी जोगाउँछौँ ।’

सम्बन्धित समाचार

ताजा न्यूज