बिहि, कार्तिक ६, २०८३
25.1 C
Kathmandu

निर्वाचन प्रचार, उम्मेदवारलाई अब रुफ टप भेहिकल प्रयोगमा प्रतिबन्ध

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारका क्रममा ‘रुफ टप भेहिकल’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो ।

गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार ‘रुफ टप भेहिकल’ प्रयोग गर्दा उम्मेदवारको सुरक्षामा खतरा देखिएको निष्कर्ष निकालिएको छ । ‘सुरक्षाका दृष्टिले ‘रुफ टप भेहिकल’ प्रयोग जोखिमपूर्ण देखियो । त्यसैले निर्वाचन अवधिभर उम्मेदवारले यस्ता सवारीसाधन प्रयोग गर्न पाउनेछैनन् ।

उम्मेदवारकै सुरक्षालाई ध्यानमा राखेर निर्णय गरिएको हो,’ उनले भने । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएलगत्तै केही उम्मेदवारले ‘रुफ टप भेहिकल’ प्रयोग गर्दै आएका थिए । विशेष गरी रवि लामिछाने र बालेन्द्र शाहले यस्ता सवारीसाधन प्रयोग गर्दै सर्वसाधारणसँग भेटघाट तथा सम्बोधन गरिरहेका थिए ।

सुरक्षा संयन्त्रका चारवटै निकायले यस्तो प्रयोग उम्मेदवारका लागि खतरापूर्ण हुने सुझाव दिएपछि समितिले निर्वाचन अवधिभर प्रतिबन्ध लगाउने निर्णय गरेको बताइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज