काठमाडौं । हिमाल आरोहण गर्न आएकाहरूको हेलिकप्टरमार्फत उद्धार गरी ठगेको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार पत्रकार सम्मेलन गरी हिमाल आरोहणमा हुँदै आएको ‘नक्कली उद्धार’ गरी अस्पताल लैजाने र पछि बीमामार्फत रकम दाबी गरी भइरहेको ठगी धन्दाबारे सार्वजनिक गरेको हो।
सिआइबी प्रमुख एवं एआइजी मनोजकुमार केसीका अनुसार यस घटनाको अनुसन्धान साढे २ महिनादेखि भइरहेको थियो।
अहिले प्रहरीले माउन्टेन रेस्क्यू सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी, अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्स्पेरियन्स एन्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुवास केसीलाई पक्राउ गरेको हो।
प्रारम्भिक चरणमा रेस्क्यू (उद्धारकर्ता) कम्पनीसँग सम्बन्धित व्यक्तिहरू पक्राउ परेका एआइजी केसीले बताए। तर यसको सञ्जाल ठूलो भएको उनी बताउँछन्।
‘यो विषय एकदमै संवेदनशील पनि भएकाले हामीले लामो समयदेखि अनुसन्धान गरिरहेका थियौं। अझै अनुसन्धान गर्नुपर्ने देखिन्छ,’ उनले भने।
हिमाल आरोहण क्रममा उद्धारका नाममा ठगी भइरहेकोबारे केही वर्षअघि अन्तर्राष्ट्रिय समाचारहरू समेत आएका थिए।
२०७५ सालमा पर्यटन मन्त्रालयले कार्यदल नै बनाएर अनुसन्धान गरेको थियो। सो अध्ययनको प्रतिवेदन प्रहरीलाई पनि दिएको सिआइबीले जनाएको छ।
