काठमाडौं । २३–२४ भदौको जेन–जी विद्रोेहपछि २१ फागुनमा हुन लागेको पहिलो आमनिर्वाचनमा उक्त उमेर समूहका उम्मेदवार अत्यन्त न्यून देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवार सूचीअनुसार जेन–जी उमेर समूहका उम्मेदवार जम्मा १५३ जना मात्र छन्, जुन कुल उम्मेदवारको करिब ४.५ प्रतिशत हो ।
दाबी–विरोध, उम्मेदवारी फिर्ता र खारेज प्रक्रियापछि निर्वाचन आयोगले शुक्रबार ३,४०६ जना उम्मेदवारको नामावली तय गरेको छ । प्रारम्भमा ३,४८७ जनाले उम्मेदवारी दर्ता गराएकामा ७२ जनाले नाम फिर्ता लिएका छन् भने नौजनाको उम्मेदवारी खारेज भएको छ ।
संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि न्यूनतम उमेर २५ वर्ष पूरा भएको हुनुपर्छ । यसअनुसार २५ देखि २८ वर्ष उमेरका १५३ जना उम्मेदवार छन् । बहुसंख्यक जेन–जी उमेर समूहका उम्मेदवार स्वतन्त्र छन् । ठुला पार्टी एमाले र नेकपाका एक–एकजना जेन–जी उमेर समूहको उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसले भने कसैलाई उम्मेदवार बनाएको छैन ।
एमालेबाट सर्लाही ४ मा २७ वर्षीय अमनिशकुमार यादव र नेकपाबाट बारा ४ मा जेन–जी उमेर समूहका २७ वर्षकै अजय कुसवाह छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले नौजना जेन–जीलाई उम्मेदवार बनाएको छ । जसअनुसार मकवानपुर २ मा २५ वर्षीय प्रशान्त उप्रेती, मुगुमा २५ वर्षीय भुवन टमटा, नवलपरासी २ मा २६ वर्षीय मनीष खनाल, हुम्लामा २६ वर्षीया टासी ल्हान्जोम, कैलाली २ मा २६ वर्षीय केपी खनाल, अछाम १ मा २७ वर्षीय ओमप्रकाश रावल, तेह्रथुममा २८ वर्षीय सुरेन्द्र कार्की, सिराहा १ मा बब्लु गुप्ता र रुपन्देही २ मा २८ वर्षीय सुलभ खरेल छन् ।
राप्रपाले मोरङ ६ मा २७ वर्षीय सविन निरौला, सप्तरी २ मा २७ वर्षीय अजयकुमार दास र सुर्खेतमा २८ वर्षीय रवि हमाल ठकुरीसहित तीनजनालाई उम्मेदवार बनाएको छ । नेमकिपा, प्रगतिशील लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टी, मंगोल अर्गनाइजेसन, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनमत पार्टीलगायतबाट पनि जेन–जी उमेरका उम्मेदवार प्रतिस्पर्धामा छन् । स्वतन्त्र ८२ उम्मेद्वार जेनजी उमेर समूहका छन् । तीमध्ये महिला १५ जना रहेका छन् ।
