शनि, कार्तिक ८, २०८३
15.1 C
Kathmandu

यी उम्मेदवार, जसले आफैँलाई भोट दिन पाउँदैनन्

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा भावी प्रधानमन्त्रीका दाबेदार, प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्मका दर्जनौँ उम्मेदवार आफैँलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन् । आफ्नै मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका उनीहरू कानुनी व्यवस्थाका कारण आफैँलाई भोट हाल्नबाट वञ्चित हुने अवस्था आएको हो ।

कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफैँलाई भोट हाल्न पाउनेछैनन् । त्यस्तै, कांग्रेस महामन्त्री प्रदीप पौडेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल, कांग्रेसका नेता डा. शेखर कोइरालालगायतका नेता पनि आफैँलाई भोट हाल्न नपाउने उम्मेदवारको सूचीमा छन् । उनीहरू आफ्नो मतदाता नामावली भएकोभन्दा भिन्न क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

भावी प्रधानमन्त्रीका दुई दाबेदार ओली र बालेन झापा ५ बाट उम्मेदवार छन् । उनीहरू दुवैलाई आ–आफ्ना पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् । ओलीको मतदाता नामावली भक्तपुर २ मा छ भने बालेनको मतदाता नामावली काठमाडौं २ मा छ । ओली आठौँपटक यही क्षेत्रबाट उम्मेदवार बनेका छन् । यसरी उनीहरू दुवैले आफैँलाई भोट हाल्न पाउनेछैनन् ।

भावी प्रधानमन्त्रीका अर्का दाबेदार कांग्रेस सभापति थापाले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनी सर्लाही ४ बाट उम्मेदवार बनेका छने भने मतदाता नामावली काठमाडौं ४ मा छ । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद् बनेका थापा त्यसपछिका निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थिए । यो निर्वाचनमा भने उनले आफैँलाई मतदान गर्न पाउने छैनन् ।

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पनि आफैँलाई मतदान गर्न पाउनेछैनन् । संसदीय अंकगणितले साथ दिए उनी पनि प्रधानमन्त्रीका आंकाक्षी नेता हुन् । रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डको मतदाता नामावली चितवन ३ मा छ । पाँचौँपटक उम्मेदवार बनेका प्रचण्डले सुरुदेखि नै निर्वाचन क्षेत्र बदल्दै आएका छन् । उनले एकपटक मात्र आफूलाई मतदान गर्न पाएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले पनि आफूलाई भोट हाल्न पाउनेछैनन् । चितवन २ का उम्मेदवार लामिछानेको नामावली भने काठमाडौं ३ मा रहेको छ । उनी तेस्रोपटक निर्वाचन लड्दै छन् । यसअघि ०७९ मा उनी चितवन २ बाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा अदालतले सांसद पद खारेज गरेपछि उनी पुनः चितवन २ बाटै उपनिर्वाचन लडेर सर्वाधिक मतसहित निर्वाचित भएका थिए । गत दुवै निर्वाचनमा आफूलाई मतदान गर्न नपाएका लामिछानेले यसपटक पनि मतदान गर्न पाउनेछैनन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई मत दिन पाउनेछैनन् । सप्तरी ३ मा उम्मेदवार रहेका यादवको मतदाता नामावली भने मोरङ ५ मा छ । उनी ०६४ सालदेखि निर्वाचन लड्दै आएका छन् । अघिल्लोपटक पनि उनले मतदान गर्न पाएका थिएनन् । ०७९ मा सप्तरी २ बाट उम्मेदवार बनेका यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । त्यति वेला पनि उनले आफूलाई मतदान गर्न पाएका थिएनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज