शुक्र, कार्तिक ७, २०८३
17.1 C
Kathmandu

नेकपामा वामदेव गोतमको टिकट फिर्ता, झलनाथ खनालले दिए नयाँलाई अवसर

काठमाडौं । नेकपामा वामदेव गौतमलाई बर्दिया–१ मा टिकट दिइए पनि अन्तिम समयमा फिर्ता गरिएको छ । सोमबार बिहानसम्म उनले आफू बर्दिया–१ को उम्मेदवार भएको बताएका थिए ।

तर नेकपा संयोजक पुष्पकमल दाहालले गौतमको टिकट विष्णुप्रसाद थारूलाई दिएका छन् । आइतबारसम्म सल्यानबाट नेता प्रकाश ज्वालालाई टिकट दिने तयारी थियो । सोमबार बिहान उनको टिकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई दिइएको छ । उनले दाहालको स्वकीय सचिवका रूपमा दुई वर्ष काम गरेका थिए ।

नेकपाले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई अछाम–१ मा उम्मेदवार बनाएको छ । एमालेले २०७९ मा उनलाई टिकट दिएको थिएन ।

इलाम, बागलुङ र सर्लाहीबाट सिफारिस भए पनि झलनाथ खनालले नयाँलाई अवसर दिने भन्दै उम्मेदवार बनेनन् ।

नेकपाका धेरै नेताले यस पटक टिकट लिन जाँगर गरेनन् । कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हितराज पाण्डे, रेखा शर्माले उम्मेदवार हुने चाहना राखेनन् । युवाहरूलाई प्राथमिकता दिने भन्दै उनीहरूले टिकटको दाबी गरेनन् ।

नेकपा २० दल र समूह मिलेर पार्टी बने पनि टिकट वितरणमा विवाद देखिएन । नेता वर्षमान पुनले यस पटक करिब ५० प्रतिशत युवा उठाएको बताए । ‘युवालाई प्राथमिकता दिएर उम्मेदवार छनोट गरेका छौं,’ उनले भने, ‘६० प्रतिशत उम्मेदवार नयाँ र युवा छन् ।’

प्रत्यक्षतर्फका उम्मेदवारमा पूर्वमाओवादीबाट १००, एकीकृत समाजवादीका ४५ र अन्य घटकबाट २० जनालाई उम्मेदवार बनाइएको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार भएका छन् । संयोजक दाहाल सुरक्षित क्षेत्र खोज्दै रुकुम पूर्व पुगेका हुन् । नेपालको भने पुरानै क्षेत्र हो ।

सम्बन्धित समाचार

ताजा न्यूज