काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदैछन । पात्रोअनुसार सर्प वर्ष पूरा भई घोडा वर्ष शुरु भएको हो ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएको हुन्छ । ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
तामाङसहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्छन् ।
नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन छ ।
ल्होसारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरेको छ । स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइदै छ ।
सोनाम ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
