बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

अमेरिकी आक्रमणपछि पूर्वलडाकुकी छोरी डेल्सी बनिन् भेनेजुएलाको कार्यकारी राष्ट्रपति

एजेन्सी । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छिन् ।

राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् ।

यसअघि भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक भएको जनाएको थियो ।

अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको थियो । साथै भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

को हुन् डेल्सी रोड्रिगेज ?

डेल्सी रोड्रिगेज १८ मे १९६९ मा काराकसमा जन्मेकी हुन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए । उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।

कानूनमा स्नातक गरेकी डेल्सी अधिवक्ता समेत हुन् ।

उनी लामो समयदेखि मादुरो सरकारसँग नजिकको सहयोगी बनेर काम गरेको अनुभव छ । उनले ह्युगो चावेजको समर्थनमा पनि काम गरिसकेकी छन् ।

२०१३–२०१४ मा सञ्चार र सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकारको समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छिन् ।

२०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो र त्यसपछि उनी मुलुकको आर्थिक र राजनीतिक निर्णयहरूमा एक महत्वपूर्ण भूमिकामा छिन् ।

अमेरिकाले मादुरालाई नियन्त्रणमा लिएलगत्तै उनले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था सार्वजनिक गर्न माग गरेकी थिइन् ।

मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई जनवरी ४ मध्यराति अमेरिका पुर्‍याइएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज