काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले बहुमत निवर्तमान सांसदहरूको हस्ताक्षर जुटाएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा १३८ सांसदले बहुमत हुन्छ।
एमालेका ७५ र कांग्रेसका ६६ निवर्तमान सांसदले पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका हुन्। एमालेले मंसिर १० गते ७५ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा बुझाइसकेको छ।
एमालेले विघटित प्रतिनिधि सभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो। एमालेले उक्त बैठकबाट विघटित प्रतिनिधि सभामा दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट लिएर जान अख्तियारी दिएको थियो ।
रिट दायर गर्दा एमालेले ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाएको छ। कांग्रेसले भने प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेपनि पार्टी निर्वाचनको पक्षमा खडा हुने निर्णय गरेको थियो।
तर मंसिर २३ गते कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
