जनकपुर । मधेश प्रदेश सभाको सभामुखमा सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्।
आइतबार भएको प्रदेश सभामुख निर्वाचनमा प्रदेश सभामा उपस्थित ९६ जना प्रदेश सांसदमध्ये यादवको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २४ मत परेको थियो।
सातदलीय सत्तारूढ गठबन्धनको तर्फबाट जसपा नेपालका प्रमुख सचेतक यादवलाई सभामुख पदको उम्मेदवार बनाइएको थियो। प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका थिए।
यादवको उम्मेदवारी प्रस्तावक नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंह तथा समर्थक नेकपा माओवादी केन्द्रका फकिरा महतो रहेका थिए।
सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। शिक्षक तथा पत्रकारिता पेसाबाट राजनीतिमा आएका यादव जनकपुरधामको गंगासागर पोखरीमा गंगा आरती सञ्चालन गरेर चर्चामा आएका थिए।
