काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २१ फागुनमा निर्वाचन नभए देश गम्भीर राजनीतिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ । शनिबार बागमती प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपाका शीर्ष नेताहरूले कसैले निर्वाचन धकेल्ने वा बिथोल्ने षड्यन्त्र गरे त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
नेकपाले सरकार र जनता दुवैसँग शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ । साथै, सभामार्फत नेकपाले राष्ट्रिय स्वाधीनता र सामाजिक एकता कायम गर्नुपर्ने, वामपन्थी एकता अघि बढाउने, सामाजिक न्याय, सुशासन र समृद्धि हुँदै समाजवादतर्फ अघि बढ्ने र युवापुस्तालाई उत्प्रेरित र सम्मान गर्ने सन्देश पनि दिएको छ ।
नेकपाको बागमती, समन्वय र उपत्यका विशेष प्रदेशको संयुक्त आयोजनामा शनिबार राजधानीको प्रदर्शनीमार्गमा आयोजित सन्देश सभामा संयोजक पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए । प्रचण्डले संसद् पुनर्स्थापना गरेर पुरानै सत्ता ब्युँताउने सपना नदेख्न कांग्रेस–एमालेका नेताहरूलाई सचेत गराए ।
प्रचण्डले सरकारले निर्वाचनको मिति सारे देश दुर्घटनामा पर्ने चेतावनी दिए । ‘सरकारले निर्वाचनको मिति सारे देश फेरि दुर्घटनामा पर्छ । त्यो वेला नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन । ७७ वटै जिल्लाबाट, सबै पालिकाबाट नयाँ आन्दोलनको, समाजवादी विद्रोहको झन्डा बोकेर आउनेछौँ । हामी चाहन्छौँ– तोकिएकै समयमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न होस्,’ उनले भने, ‘र, सरकारलाई भन्न चाहन्छौँ– कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । सरकारले निर्वाचनको मिति सार्ने, धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ । यदि, त्यसो गरियो भने हामी चुप बस्नेछैनौँ । यो त्यस्तो शक्ति हो, जसले हिजो जनयुद्ध गर्यो र अढाई सय वर्ष पुरानो राजतन्त्रलाई धराशयी बनायो । जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य गर्यो, गणतन्त्र स्थापना गर्यो । मूल शक्ति यही नै हो, यसलाई खेलाँची नठानियोस् ।’
घोषित निर्वाचन नै देशका लागि अबको सहज बाटो भएको उनले बताए । निर्वाचनका लागि सरकारलाई सहयोग गरिरहेको पनि उनले बताए । संसद् पुनर्स्थापना गरेर पुरानै सत्ता ब्युँताउने सपना नदेख्न उनले सचेत गराए । ‘एकथरी मानिसहरू निर्वाचनभन्दा संसद् पुनर्स्थापनाको कुरालाई लिएर सर्वोच्च अदालततिर गइराख्नुभएको छ । र, मानिसहरूको मनमा संसद् पुनर्स्थापना होला कि निर्वाचन होला भन्नेजस्ता प्रश्न जन्मिराखेका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी नै हाल्छ, संसद् पुनर्स्थापनापछि सजिलै फेरि पुरानै सरकार भन्ने कल्पनामा एकथरी मानिसहरू लागेको देखिन्छ । म, ती मानिसहरूलाई त्यो भ्रममा नपर्न अपिल गर्न चाहन्छु । सजिलो छैन । त्यसकारण, अहिले घोषणा भइसकेको निर्वाचन नै सबैभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनका लागि तयार भइरहेका छन् । कांग्रेसले निर्वाचनमा जाने संस्थागत निर्णय गरिसकेको छ । एमालेले बाहिर जेसुकै बोले पनि भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकेको छ,’ उनले भने।
