काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि उमेदवार सिफारिस गर्न पार्टीका तल्ला निकायमा परिपत्र गरेको छ ।
वडा तहबाट सिफारिस गर्दै गाउँ/नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशहुँदै केन्द्रमा सिफारिस गर्ने गरी कांग्रेसले परिपत्र गरेको हो । कांग्रेसले गरेको परिपत्रले यसअघि सार्वजनिक लाभको पदमा बसेर पार्टीलाई नियमअनुसार बुझाउनुपर्ने लेबी नबुझाएकाहरूलाई उमेदवारको ढोका बन्द गरिदिएको छ ।
परिपत्रमा भनिएको छ, “पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिएबमोजिमको सहयोग रकम (लेबी) तोकिए बमोजिमको पार्टी निकायमा बुझाउनुपर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उमेदवार हुन पाउने छैनन् ।”
यसअघि महामन्त्री गगन थापाले पार्टीमा गरेको ब्रिफिङमा स्थानीय तहका पदाधिकारीसहित पार्टीबाट निर्वाचित भएका व्यक्तिहरूले बुझाउनुपर्ने लेबी रकम नबुझाएको उल्लेख थियो । यसअघि पनि लेबी रकम बुझाउन पटकपटक स्थानीय तहका पदाधिकारीहरूलाई परिपत्र गरिएको थियो । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट प्राप्त हुने लेबी भने संसदीय दलबाट निर्णय गरी सिधै पार्टीको खातामा जम्मा हुने गरी व्यवस्थापन गर्ने गरेको छ । तर, स्थानीय तहका पदाधिकारीले भने आफ्नो जिल्ला कार्यसमितिमार्फत् केन्द्रमा पठाउनुपर्ने प्रावधान रहेको छ ।
कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कम्तिमा एक महिलासहित तीनजना र समानुपातिकतर्फ कम्तिमा एक महिलासहित दुईजना सिफारिस गर्न परिपत्र गरेको छ । वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्लाहुँदै प्रदेशबाट मंसिर २९ गतेभित्र उमेदवार सिफारिस गरिसक्न परिपत्रमा भनिएको छ ।
उम्मेदवारको नाम सिफारिस गर्दा विशेष ध्यान दिनु पर्ने विषयहरू :
१) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने ।
२) जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन् ।
३) २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन् ।
४) प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरुको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिश गर्न पाइने छैन ।
५) तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइने छैन ।
६) प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिश गर्नु पर्नेछ ।
७) प्रतिनिधिसभा सदस्य पदको उम्मेवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ ।
प्रतिनिधिसभा समानुपातिक तर्फका सिफारिश भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, मतदाता परिचय पत्रको प्रतिलिपी, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ ।
९) २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई उम्मेदवार सिफारिश गर्न पाइने छैन ।
१०) पार्टी विधानको धारा ६९ वमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरुले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।
