शुक्र, कार्तिक ७, २०८३
13.1 C
Kathmandu

लामो रस्साकसीपछि कांग्रेस महाधिवेशन तय, पुस २६–२८ मा १५औं महाधिवेशन

काठमाडौं । डेढ महिनाको रस्साकसीपछि कांग्रेस महाधिवेशनको तालिका सार्वजनिक भएको छ । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको प्रयासमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग शनिबार सहमति भएअनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबारको बैठकमा पुसभित्रै महाधिवेशन गर्ने तालिका पेस गरेका थिए । खड्काले सुरुमा केहीबेर भूमिका बाँधेर महाधिवेशनसम्बन्धी तालिका निर्णयार्थ पेस गरेका थिए ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सहमतिका आधारमा बैठकले २६ देखि २८ पुससम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको बताए । ‘कार्यवाहक सभापतिले पेस गरेको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको छ । अब सबै साथीहरूको भावनाअनुसार पुसभित्र महाधिवेशन हुन्छ,’ प्रवक्ता महतले भने ।

कार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमा लेख्दै देशको विषम र प्रतिकूल परिस्थितिमा महाधिवेशनसँग र जोडिएका सबै विषय सर्वसम्मतिले पारित भएको बताएका छन् । यसअघि उनले लगातार स्थगित बैठक सहमति नभएसम्म सारिरहने अभिव्यक्ति दिएका थिए ।

यस्तो छ महाधिवेशनको कार्यतालिका
वडा अधिवेशन १६ पुसमा तथा गाउँ र नगरपालिकाको अधिवेशन १७ पुसमा गर्ने कार्यतालिका छ । १९ पुसमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय र जिल्ला अधिवेशन २१ पुसमा हुनेछ । दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ठाउँमा जिल्ला अधिवेशन २२ पुसमा हुने कार्यतालिमा उल्लेख छ । यसबाहेक २३ र २४ पुसमा प्रदेश अधिवेशन हुनेछ भने २६–२८ पुसमा १५औँ महाधिवेशन गरिनेछ ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार वडा अधिवेशनअघि क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता टुंग्याउने निर्णय भएको छ । सदस्यता व्यवस्थापन समिति र सदस्यता छानबिन समितिले विवाद समाधान गरेपछि निर्वाचन समितिले अधिवेशन सुरु गर्ने उनले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज