शुक्र, कार्तिक ७, २०८३
16.1 C
Kathmandu

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

आसन्न ११औं महाधिवेशनका लागि उनले मंगलबार लामो वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

पहिले वरिष्ठ उपाध्यक्ष पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने तयारी थियो। तर यो प्रक्रिया केही दिनलाई थाती राखेर उनी एक्लैले विज्ञप्तिमार्फत् आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

‘…११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ वक्तव्यमा पोखरेलले भनेका छन्।

पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रस्ताव वर्तमान अध्यक्ष केपी ओलीले सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरी आठौँ, नवौँ र दशौँ राष्ट्रिय महाविधेशनले स्वीकार गरेको स्मरण गराउँदै पोखरेलले नेतृत्व हस्तान्तरणको प्रक्रियालाई कार्यान्वयन गरिनुपर्ने प्रस्ट्याएका छन्।

‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैँले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ वक्तव्यमा भनिएको छ।

प्रतिनिधि छनोटमा विवेक प्रयोग गर्न अपिल
महाधिवेशनको नेतृत्व छनोटमा ओली र भण्डारी समूहबिच प्रतिस्पर्धा निश्चित बनेकाले प्रतिनिधि छनोटमा देश तथा प्रवास सबैतिर चुनाव हुने प्रारम्भिक आकलन छ । यसैलाई मध्यनजर गर्दै पोखरेलले प्रतिनिधि छनोटमा विवेक प्रयोग गर्न पार्टी कार्यकर्तासँग अपिल गरेका छन् ।

‘पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदै छ । माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु,’ पोखरेलले भनेका छन् ।

एमालेले महाधिवेशनका लागि १३ मंसिरमा प्रतिनिधि छनोटको निर्वाचन गर्ने गरी मंगलबारबाट प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधि छनोटका लागि लगभग सबै जिल्ला, प्रवास क्षेत्र, जनसंगठन, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूमा बुधबार हजारौँले उम्मेदवारी दर्ता गराउँदै छन् । सबैजसो क्षेत्रमा निर्वाचन ९ देखि १३ मंसिरसम्मको निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको छ ।

एमालेमा ६ लाख ७० हजार संगठित सदस्य छन् । सर्वसम्मत नहुने जिल्लामा पार्टी सदस्यहरूले छनोटका लागि मतदाताका रूपमा भाग लिनेछन् । केन्द्रीय संगठन विभागले निर्वाचनमा सहजीकरण गर्न १७ जना केन्द्रीय नेता खटाएको छ भने सर्वसम्मति नभए मतदान गरेरै प्रतिनिधि छनोट गर्न जिल्लाहरूलाई सर्कुलर पठाइसकेको छ ।

महाधिवेशनमा अलग्गै दस्ताबेज बनाउँदै पोखरेल
उनले २३ भदौको जेन–जी आन्दोलनपछिको परिस्थितिमा आएको फेरबदल र निष्कर्षलाई अपडेट गर्नुपर्ने आवश्यकता औँल्याउँदै एघारौँ महाधिवेशनमा राजनीतिक तथा सांगठनिक विस्तारित दस्ताबेज प्रस्तुत गर्ने पनि अपिलमा प्रस्ट्याएका छन् । ‘हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ । महाधिवेशनसमक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्ताबेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सबैको साथ र सुझावको अपेक्षा गर्दछु,’ उनले भनेका छन् । उनले पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने तथा नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी काममा फर्काउने प्रतिबद्धता
उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी काममा फर्काउने प्रतिबद्धता पनि जनाएका छन् । ‘चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएकी पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो,’ पोखरेलले भनेका छन्, ‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

सम्बन्धित समाचार

ताजा न्यूज