काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।
महाधिवेशनको विवादमा कुरा नमिल्दा बैठक सरेको सरै छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गते सुरु भएको थियो ।
महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । बैठकमा सबै नेताले धारणा राखिसके पनि निर्णय भने हुन सकेको छैन ।
सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहकको जिम्मेवारी दिएका थिए । तर, खड्काले सहमति जुटाउन नसकेपछि देउवाले पुनः सक्रियता बढाएका छन् ।
