जनकपुर । तत्कालीन मधेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले नेता सरोज यादवलाई सोमबार सबेरै बर्दिबासको एउटा होटलमा मुख्यमन्त्रीको शपथ गराएको घटना राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शपथ दिलाउने र लिने दुवैले नैतिकता गुमाएको बताए । ‘पदको जिम्मेवारी र नैतिकता भन्ने हुन्छ नि, नैतिकताले पनि एउटा मूल्य राख्छ । त्यो कहीँ कतै देखिएन,’ उनले भने, ‘बिरामी छु भनेर बिहान ४ बजे प्रदेश प्रमुख निवासबाट निस्किने । बाटोमा होटलको बारमा बसेर मुख्यमन्त्रीको नियुक्ति गर्ने, शपथ गराउने र मुख्यमन्त्री पदमा लज्जाजनक ढंगले लुकेर शपथ लिने । अत्यन्तै लज्जाजनक घटना हो ।’
शक्ति आफ्नो हातमा राख्न एमालेले यस्तो घटना गराएको उनले आरोप लगाए । ‘एमालेको व्यवहारले लोकतन्त्रको उपहास भएको छ, विधिको धज्जी उडाउने काम भएको छ,’ उनले भने, ‘संवैधानिक, राजनीतिक र नैतिकता हरेक दृष्टिकोणबाट गलत भएको छ ।’ बहुमतको सरकार बन्ने विकल्प हुँदाहुँदै प्रदेश प्रमुख र प्रदेशसभाका सभामुख दुवैले आफ्नो जिम्मेवारीलाई एमालेको हितमा प्रयोग गरेको उनको आरोप छ । ‘गलत कार्यलाई स्विकार्य गर्न सकिँदैन,’ उनले भने, ‘यसलाई सुधारिनुपर्छ ।’
जनमत अध्यक्ष सीके राउत बृहत् राजनीतिक षड्यन्त्र भएको बताउँछन् । ‘संघीयता र प्रदेशप्रति आमजनतामा वितृष्णा फैलाउने घटना पटक–पटक भइरहेका छन्, अन्य प्रदेशमा पनि भएका छन्,’ उनले भने, ‘अहिले मधेशमा गराइएको घटना पनि त्यसैको निरन्तरता हो, यो संघीयता र प्रदेशप्रतिको षड्यन्त्र हो ।’
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिमा उत्पन्न विवादपछि सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
