काठमाडौं । पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार र बुधबार दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना महाशाखाले बताएको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्कन पदयात्रीलाई आग्रह गरेको छ ।
