काठमाडौं । कांग्रेस संस्थापन र इतरसमूहका नेताबिच आगामी महाधिवेशनको मितिमा सहमति जुट्न नसकेपछि केन्द्रीय कार्य समिति बैठक दुई दिन पछि सरेको छ । आइतबार तय भएको बैठक मंगलबार सारिएको हो । मंगलबार बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापति सहभागी हुनेछन् । जेन–जी आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरणको मुद्दा थप बलियोसाथ प्रवेश गरेको छ ।
कांग्रेसभित्र मंसिरमै नियमित महाधिवेशन गर्ने कि केही समय सार्ने भन्नेमा विवाद देखिएको छ । संस्थापन पक्ष विधि–प्रक्रिया पुर्याउँदा मंसिरमा महाधिवेशन गर्न समय नपुग्ने र केही समय सार्नुपर्ने पक्षमा छ भने इतरपक्ष मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । मंसिरको सुनिश्चतता नभए विशेष महाधिवेशन गर्नुपर्ने इतरसमूहका नेताहरूको जोड छ ।
शनिबार बसेको कार्यसम्पादन परामर्श समिति बैठकमा संस्थापन पक्षका नेताले केही समय सारेरै भए पनि विधि र प्रक्रिया पुर्याएरै महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर, इतरपक्षका नेताले भने जसरी पनि मंसिरमै महाधिवेशन हुनुपर्ने अडान लिएका थिए ।
कांग्रेसमा संस्थापन पक्षका नेता विधानले दिएको सुविधाअनुसार महाधिवेशन सार्ने पक्षमा छन् । विधानअनुसार एक वर्षसम्म म्याद थप्न पाइने भएकाले संस्थापन पक्षका नेता मंसिरमा महाधिवेशन गर्न समय नपुगेर केही समय थप्नुपर्ने पक्षमा छन् । इतरपक्ष भने मंसिरमै महाधिवेशन हुनुपर्ने अडानमा छ । कांग्रेस केन्द्रीय कार्य समितिको चारवर्षे कार्यवधि आगामी मंसिरमा सकिँदै छ ।
