काठमाडौं । नेपालले आइसिसी टि– ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा इएपी छनोटमा विजयी सुरुवात गरेको छ । ओमानमा भएको उद्घाटन खेलमा नेपालले कुवेतलाई बुधबार राति ५८ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।
जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ दशमलव १ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २६ र यासिन पटेलले १९ रन जोडे ।
नेपाललाई सोमपाल कामीले चौथो बलमै ओपनर रविजा सान्दारुवानलाई बोल्ड गरेका थिए । त्यसपछि उस्मान पटेल नन्दन यादवको बलमा स्वीप खेल्ने धुनमा शून्यमा बोल्ड आउट भए । मित भावसारलाई ललितले ११ रनमा क्याच गराउँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए ।
नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशी र रोहित पौडेलले पनि समान २–२ विकेट लिए ।
सोमपाल, नन्दन र कुशल भुर्तेलले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो ।
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए । गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाए ।
नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्नेछ ।
