काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा वर्ग दृष्टिकोण कमजोर भएको भन्दै गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन्।
बिहीवारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकमा राजनीतिक एवं सांगठनिक प्रस्ताव पेश गर्दै उनले यस्तो धारणा राखेका हुन्।
प्रवक्ता अग्नि सापकोटाकाअनुसार अध्यक्ष दाहालले केन्द्रीय समिति विघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव समेत राखेका छन्।
अध्यक्ष दाहालले आफू जीवनभर पार्टी अध्यक्षमा टाँसिरहन नचाहेको उल्लेख गर्दै विधिमार्फत नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको उल्लेख गरेका सापकोटाको भनाइ छ।
उनले पार्टीमा जेनजी पुस्ताको सहभागिता बढाउँदै उनीहरूका माग सम्बोधन गर्नेगरी अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका पनि उनले बताए।
