काठमाडौं । दसैँको मुखमै राजधानी काठमाडौंलाई जोड्ने प्रमुख मार्ग मुग्लिन–नारायणगढ हरेक दिन पहिरोको ट्र्यापमा पर्न थालेको छ । मुग्लिन बजारदेखि करिब दुई किलोमिटरमा रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइनखोला पुलछेउमा २८ भदौबाट हरेक दिन पहिरो खस्न थालेपछि यात्रुले सास्ती खेप्नुपरेको हो ।
राजधानी काठमाडौंसँग देशका धेरैजसो जिल्ला जोड्ने लाइफलाइन मानिएको मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा दिनदिनै गइरहेको पहिरोले दसैँमा हजारौँ यात्रुको बिचल्ली भएको छ । पहिरोको इपिसेन्टर तुइनखोलामा डेढ सातामा १३ पहिरो खसेको छ ।
पछिल्लोपटक तीन दिन अवरुद्ध र त्यसपछि एक दिन एकतर्फी बनेको सडक पहिरो पन्छाएर दुईतर्फी सञ्चालन गरेको भोलिपल्टै मंगलबार भीषण पहिरो खसेपछि अनिश्चित बनेको छ ।
घटस्थापनासँगै काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढेका वेला मुग्लिन–नारायणगढ सडक हरेक दिन अवरुद्ध भइरहेको छ । मुग्लिन–नारायणगढ मात्र होइन, काठमाडौंलाई पोखरासँग जोड्ने पृथ्वी राजमार्गमा पनि पहिरो खस्न थालेको छ ।
नारायणगढ–मुग्लिन सडक मुग्लिन बजारमा पुगेपछि पृथ्वी राजमार्गसँग जोडिन्छ । तर, ३ असोजको पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आइतबार एकतर्फी र सोमबार साँझ दुईतर्फी सञ्चालन भएका वेला सोमबार मध्यराति नै पृथ्वी राजमार्ग (मुग्लिन–नागढुंगा) मा पर्ने धादिङको बेनिघाटस्थित जवाङखोलामा पहिरो खसेर नागढुंगा नाकाबाट राजधानीसँग सडक सञ्जाल अवरुद्ध भएको थियो ।
जवाङखोलाको पहिरो पन्छाएर मंगलबार दिउँसो ३ बजे सडक सञ्चालन गरिए पनि मुग्लिन–नारायणगढ सडकखण्डमा भने त्यसअघि दिउँसो १ बजेदेखि नै सडक अवरुद्ध बन्यो । सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकको तुइनखोलाको पहिरो पन्छाउने तयारी गरेका वेला मंगलबार साँझ ४ः ५५ बजे भीषण पहिरो खसेपछि झनै अनिश्चित बनेको हो । हुन त तुइनखोलामा मंगलबार बिहान पनि पहिरो खसेको थियो, तर पन्छाएको केही घण्टामै फेरि अवरुद्ध भएको हो ।
यसैबिच, जिल्ला प्रशासन कार्यालय चितवनले तत्काल सडक खुल्ने अवस्था नरहेकाले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
