काठमाडौं । सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान् विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।
विश्वकर्मा पूजाको दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ ।
सनातन धर्ममा विश्वकर्मा विशेषगरी प्रविधि र शिल्पका देवता मानिन्छन्। यो दिन विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्।
विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरू उनको पूजा–आराधना गर्छन्। पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा विश्वकर्मा ठूला वास्तुविद् भएको उल्लेख छ। द्वापरयुगमा राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई भगवान् कृष्णलाई लुकाएको उल्लेख छ।
