काठमाडौं । गत आर्थिक वर्षमा अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार देशको समग्र आर्थिक अवस्थामा केही महत्वपूर्ण परिवर्तनहरू आएका छन्।
यस वर्ष विशेषगरी विदेशी मुद्राको सञ्चितिमा कीर्तिमानी वृद्धि भएको छ। यसले देशको बाह्य क्षेत्र मजबुत बनाएको छ। रेमिटेन्स अहिलेसम्मकै उच्च आएको छ। वृद्धिदर भने औसत छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा कमी आउँदा कर्जा प्रवाह बढेको छ। नेपाली मुद्रा कमजोर बनेको छ। जसले रेमिटेन्स पठाउनेलाई लाभ भएको देखिन्छ भने आयात महँगो भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च भित्रिएको छ ।
मासिक रूपमा पनि क्रमशः उच्च आउने गरेको रेमिट्यान्स आप्रवाह वार्षिक पनि हालसम्मकै उच्च हो ।
आर्थिक वर्ष २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको तुलनामा १९.२ प्रतिशतले धेरै हो ।
अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब १८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म आइपुग्दा ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा देशको महँगी दर ४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार सो आर्थिक वर्षमा ४.०६ प्रतिशतको मुद्रास्फीति कायम भएको हो । गत आर्थिक वर्षमा यो दर ५.४४ प्रतिशत रहेको थियो ।
