काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ‘फर्स्ट नेपाल, फर्स्ट नेपाली’ नारा अघि सार्दै पार्टी खोल्ने घोषणा गरेका हुन्।
उनले दलको नाम, स्वरूप आदि बिषयमा भने केही खुलाएका छैनन् । यद्यपि, निर्वाचन आयोगमा दल दर्ता गरेर अघि बढ्ने उनको तयारी छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले हुँदै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियान घोषणा गरी राजनीतिक गतिविधि गर्दै आएका मेडिकल व्यवसायी प्रसाईंले आफै राजनीतिक दल खोल्ने तयारी गरेका हुन् ।
उनी पछिल्लो समय राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा थिए। उनकै आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन भएको थियो । प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु, केही मानिस घाइते, निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र, पार्टी कार्यालयमा आगजनी भएको थियो ।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईंलाई जनकमाण्डर पनि तोकेको थियो।
प्रसाईं चैत १५ को घटनापछि पक्राउ परेर हिरासत र कारागार बसेर अदालतको आदेशअनुसार धरौटीमा हालै रिहा भएका थिए।
