काठमाडौं । भारत उत्तराखण्डको उत्तरकाशीस्थित खिर नदीमा अचानक बाढी आएको २० साउनको घटनामा एक बालकसहित १७ नेपाली सम्पर्कविहीन भएका छन् । जाजरकोटको कुसे गाउँपालिका– २ का १२, बर्दियाको मधुवन नगरपालिकाका चार र जुम्लाको तिला गाउँपालिका– ३ का एक गरी १७ जना सम्पर्कविहीन भएका हुन् ।
२० साउनमा खिर नदीमा लेदोसहित आएको बाढीले धराली गाउँँ र पौडीगढीमा ठुलो विनाश निम्त्याएको थियो । त्यसबाहेक उत्तराखण्डका विभिन्न क्षेत्रमा बाढीपहिरो गएको थियो । १७ नेपाली त्यही बाढीमा परेको आशंका गरिएको सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले जनाएका छन् ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले नेपाली नागरिकको अवस्थाबारे स्थानीय प्रहरीबाट बुझ्ने प्रयास भइरहेको बताए ।
सम्पर्कविहीन हुनेहरू
जाजरकोट कुशे गाउँपालिका निवासी
– कर्णबहादुर सिंह
– रामबहादुर सिंह
– मानबहादुर सिंह
– निम सिंह
– रविन सिंह
– नाम र ठेगाना नखुलेका थप ७ जना
जुम्ला तिला गाउँपालिका निवासी
– जनकबहादुर शाही
बर्दियाको मधुवन नगरपालिका निवासी
– नरेन्द्र खड्का
– सरस्वती खड्का
– रोमन खड्का
– अमृता परियार
– सुवास विक
