काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कारागारबाट रिहा भएका छन् । डिल्लीबजार कारागार प्रशासनले प्रसाईंलाई रिहा गरेको हो । उनलाई कांग्रेस सांसद सुनिल शर्मालगायतले स्वागत गरेका छन् ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
अदालतले तोकेको २८ लाख धरौटी रकम बुझाएर उनी रिहा भएका हुन्।
अदालतले भनेको छ, ‘….निज अभियोग दावी बमोजिमको आपराधिक उपद्रवको घटनामा निजको उपस्थिति र निजले प्रत्यक्षरुपमा सो कार्य गराउन लगाए, अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेश हुन सकेको देखिँदैन ।’ उच्च अदालतले गत २०८२ जेठ २९ मा जिल्ला अदालतले गरेको आदेश नमिलेको भन्दै बदर भएको जनाएको छ ।
तथापि, प्रसाईं समेतले आयोजना गरेको कार्यक्रमको शिलशिलामा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति भएको तथ्य, उनी क्यान्सर पीडित रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको तथा समानताको सिद्धान्तलाई विचार गरी तीन लाख रुपैयाँ धरौटी लिन इजलासले भनेको छ ।
