काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले पुष्टि गरेका छन् ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।
मृत्यु हुनेमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, आरिफ रेडा, को पाइलट एस कटुवाल रहेका छन्।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।
