काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता घोषणा भएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट भुजेलसहितका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् ।
एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन् । दुई पार्टीबीच एकताको लागि १० बुँदे सहमति भएको छ ।
आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन गर्नेलगायतको विषय समेटिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको
पार्टी एकता सहमति पत्र
संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्त गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो । यही आवश्यकतालाई ध्यानमा राखी नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचमा पार्टी एकता र कम्युनिष्ट आन्दोलनको एकीकरणको प्रक्रिया अगाडि बढाउनका लागि निम्न प्रस्तावहरूमा सहमति गरिएको छ ः
१. पार्टीको मार्गनिर्देशक सिद्धान्तः माक्र्सवाद–लेनिनवाद हुनेछ ।
२. नेपाली क्रान्तिको कार्यक्रमः नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३. पार्टीको तात्कालिक कार्यनीतिः संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने हुनेछ ।
४. आन्दोलनको स्वरूपः आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । समय परिस्थिति अनुसार आन्दोलनका सबै रूप प्रयोग गर्न सकिने छ । सडक, संसद् र सरकार लगायतका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् ।
५. एकता राष्ट्रिय महाधिवेशनः आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
६. सङ्गठनात्मक समायोजनः केन्द्रीय समिति, केन्द्रीय कार्य समिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्य संयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन हुनेछ ।
७. एकता तथा समायोजनः सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा सहमतिका आधारमा समायोजन गरिने छ । उक्त काम यही मंसिर मसान्तभित्र सम्पन्न गरी सकिनेछ ।
८. पार्टी समितिहरूको सञ्चालनः पार्टी समितिहरूको सञ्चालन विधि, पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप हुनेछ ।
९. पार्टीको नाम र चुनाव चिन्हः नाम नेपाली कम्युनिष्ट पार्टी र पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने छ ।
१०. मतभेद समाधानः सिद्धान्त र विचार लगायत एकआपसमा रहन सक्ने मतहरू तथा विगतको समीक्षासहित निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुगिने छ ।
