काठमाडौं । मोरङ समाज काठमाडौं (मोसोका)द्वारा आयोजित विजया दशमी, दिपावली, छठ, नेपाल संवत तथा इद पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
घटस्थापनाको अवसरमा काठमाडौंको पुरानो वानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा मोसोकाका अध्यक्ष ओमकुमार मास्केको सभापतित्वमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन मोसोकाका महासचिव नवीनकुमार बानियाँले गरेका थिए ।

मोरङ जिल्लाबाट संघीय राजधानी काठमाडौं आई विभिन्न पेसा, व्यवसाय र अध्ययनमा आबद्धलाई एकापसमा जोड्न संस्था क्रियाशील छ । संस्थाले चाडपर्व, नयाँ वर्ष लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमको सुरुवातमा रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा भोटेकोशी क्षेत्रमा बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झानामा एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि राष्ट्रिको सम्मानमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथिका रूपमा महालेखा परीक्षक तोयम राय सहभागी थिए । मोसोकाका पूर्वअध्यक्ष ध्रुवकुमार तिम्सिना, सल्लाहकार वरिष्ठ गायक सिताराम पोखरेल, सांसद प्रमीला गच्छदार, पूर्वसांसद रमेशजंग रायमाझी, पूर्वएआइजीपी, भीमप्रसाद ढकाल विशिष्ठ अतिथिको रुपमा सहभागी थिए । प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले विजया दशमी, दीपावलीलगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मोसोकाको सामाजिक गतिविधिको प्रशंशा गरेका छन् ।

मोसोकाकी उपाध्यक्ष वेञ्जु ढुंगेलले स्वगत मन्तव्यद्धारा औपचारिक रुपमा कार्यक्रममा स्वागत गरेका थिए । नियमित कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न गरिएको मोसोकाले जनाएको छ ।
