बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

क्यान्सरको औषधि र रेबिजविरुद्धको खोप हाहाकार, सरकारको ध्यान गएन

काठमाडौं । क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिसप्लाटिन औषधि र कुकुरलगायत जनावरले टोक्दा जतिसक्दो छिटो लगाउनुपर्ने रेबिजविरुद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ । गत ९ जेठदेखि नै चरम अभाव भएको सिसप्लाटिन पछिल्लोपटक ८ असारमा १२ सय भायल भित्र्याए पनि बुधबारदेखि फेरि अभाव भएको छ ।

रेबिजविरुद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाहेक कुनै पनि अस्पतालमा छैन । टेकुमा पनि ६ हजार भायल मात्रै छ ।

उपत्यकाबाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप नभएपछि कुकुर–बिरालोलगायत जनावरले टोकेका बिरामीको भिड टेकु अस्पतालमा लाग्ने गरेको छ । सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन् । तर, सरकारले निःशुल्क दिने रेबिजविरुद्धको खोपका लागि निजीले महँगो शुल्क लिन्छन् ।

टेकु अस्पतालमा दैनिक औसतमा तीन सय बिरामी रेबिजविरुद्धको खोप लगाउन आउँछन् । नयाँ खोप किन्ने प्रक्रिया अघि बढेको छैन ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको थियो । केन्द्र सरकारले खोप व्यवस्थापनबारे समयमै सोचेन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी हाल सरकारी प्रणालीमा करिब ५० हजार भाइल रेबिजविरुद्धको खोप मौज्दात रहेको दाबी गर्छन् । उनका अनुसार समस्या खोप अभावभन्दा पनि वितरण व्यवस्थापनमा छ ।

सम्बन्धित समाचार

ताजा न्यूज