बुध, कार्तिक ५, २०८३
17.1 C
Kathmandu

संसदीय मर्यादा उल्लंघन घटनाबारे छानबिन गर्न समिति गठन, कारबाहीको संकेत

काठमाडौं । प्रतिनिधिसभाको बैठकका क्रममा केही सांसदहरूले अमर्यादित आचरण प्रदर्शन गरेको विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको छ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा जानकारी दिँदै घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाइएको बताएका हुन्।

सभामुखका अनुसार समितिलाई घटनासम्बन्धी आवश्यक अध्ययन, तथ्य संकलन तथा मूल्यांकन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

संसदीय मर्यादा र आचरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको वस्तुगत मूल्यांकन गर्दै आवश्यक सुझावसहित प्रतिवेदन तयार पार्न समितिलाई निर्देशन दिइएको छ।

सभामुख अर्यालले सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीनसदस्यीय समिति गठन गरेका हुन्।

संघीय संसद्को योजना शाखा प्रमुख र प्रविधि शाखाका प्रमुख सदस्य रहेको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

आइतबार प्रतिनिधिसभा नियमावली पास गर्ने क्रममा विपक्षी सांसदहरुले वेल घेराउ गर्दै सभामुखको माइक खोस्ने प्रयास गरेका थिए। जस क्रममा घम्साघम्सी भएको थियो। केही सांसदहरुले कुर्सी, टेबुल र माइक समेत तोडफोड गरेका थिए ।

संसद सचिवालय स्रोतका अनुसार छानबिन समितिको अध्ययनको आधारमा कारबाहीको तयारी छ ।

सम्बन्धित समाचार

ताजा न्यूज