काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १ सय २५ सिट जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ ।
यस्तै, समानुपातिकतर्फ हालसम्म १ करोड २ लाख ५८ हजार २३१ मत गणना भएको छ । अहिलेसम्म ६ दलले मात्रै थ्रेस होल्ड कटाएका छन् । थ्रेस होल्ड कटाउन सदर मतको तीन प्रतिशत पूरा गर्नुपर्छ ।
रास्वपाले हालसम्म ४९ लाख ३१ हजार ९३० मत प्राप्त गरेको छ । मत विभाजक सूत्रअनुसार उसले अहिलेसम्म ५८ सिट प्राप्त गर्ने देखिन्छ । कांग्रेसले १६ लाख ६८ हजार ८४५ मत प्राप्त गरेको छ । उसले हालसम्म १९ सिट प्राप्त गर्ने देखिन्छ ।
एमालेले १३ लाख ८६ हजार ३२७ मत प्राप्त गरेको छ । उसले प्राप्त गरेको समानुपातिक मतअनुसार १६ सिट पाउने देखिन्छ । नेकपाले ७ लाख ५० हजार मत प्राप्त गरेको छ । यसरी हेर्दा उसले अहिलेसम्म ९ सिट पाउने देखिएको छ ।
पाचौं स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७९६ त प्राप्त गरेको छ । उसले पाएको मतको आधारमा ४ सिट पाउने देखिन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २२ हजार मत प्राप्त गरेको छ । उसले पनि ४ सिट नै पाउने देखिएको छ ।
