काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३–२४ मा भएका गोलीकाण्ड र आगजनीका घटनामाथि छानबिन गर्न गठित जाँचबुझ आयोगले भूमिका औँल्याउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आइतबार आयोगले प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाए पनि आयोग पदाधिकारीले भने कारबाहीका लागि सिफारिसको नाम खुलाएका छैनन् । साथै तत्कालीन राजनीतिक तथा सुरक्षा नेतृत्वलाई कस्तो कारवाहीका लागि सिफारिस भएको छ भन्नेबारे पनि आयोग पदाधिकारीले खुलाएका छैनन् ।
६ महिनाको अध्ययनपछि बुझाइएको प्रतिवेदनको संवेदनशीलता हेरेर पूर्ण वा आंशिक सार्वजनिक गर्ने भन्नेसहित यसलाई कार्यान्वयनमा लैजानेबारे निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । निर्वाचनपूर्व प्रतिवेदन बुझाउँदा आउन सक्ने सम्भावित जोखिमसमेत हेरेर आयोगले ‘होल्ड’मा राखेको थियो । करिब एक हजार पृष्ठको विस्तृत प्रतिवेदनले घटनाका जिम्मेवार व्यक्तिहरू पहिचान गर्दै कानुनी कारबाहीको बाटो खोले पनि अब मुख्य प्रश्न यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा केन्द्रित भएको छ ।
सरकारले आन्दोलनमा भएको मानवीय क्षति र त्यसपछि भएको आगजनीसम्बन्धी छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गत ९ असोजमा जाँचबुझ आयोग गठन गरेको थियो । थपिएको म्यादको अन्तिम दिन आइतबार आयोग पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।
