मोरङ । २०४८ सालदेखि २०५६ सम्मको अवधिमा मुलुकमा तीनवटा निर्वाचन भए । २०४८ र २०५६ मा आम निर्वाचन हुँदा २०५१ मा मध्यावधि निर्वाचन भयो ।
यी तीनवटै निर्वाचनमा यो निर्वाचन क्षेत्रबाट गिरिजाप्रसाद कोइराला निर्वाचित भएका थिए । २०४८ देखि २०५८ सम्मको अवधिमा कोइरालाले तीनपटक मुलुकको बागडोर सम्हाले ।
त्यसयता यो निर्वाचन क्षेत्रबाट आमोदप्रसाद उपाध्याय, डा. मीनेन्द्र रिजाल र ऋषिकेश पोखरेलजस्ता प्रभावशाली नेताहरूले संसदको यात्रा तय गरे । तर, देश हाँक्ने नेता जन्माएको यो क्षेत्रका नागरिक भने अहिले पनि सामान्य खोल्सो तर्न पुल नहुँदा सास्ती खेपिरहेका छन् ।
तीन दशकदेखि कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा यसपटक नयाँ दल रास्वपा र त्यसका उम्मेदवारको चर्चा गाउँ–गाउँमा छ । स्थानीय मतदातामा पुराना दलप्रतिको असन्तुष्टि प्रस्ट देखिन्छ ।
फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजाल उम्मेदवार छन् । नेकपा एमालेले रंगेलीका पूर्वमेयर दीलिप बगडियालाई मैदानमा उतारेको छ । २०७४ र २०७९ मा आफ्नो उम्मेदवार नउठाएको –तत्कालीन माओवादी) नेपाली कम्युनिष्ट पार्टीले यो पटक चन्द्रवीर राईलाई मैदानमा उतारेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण कार्की उम्मेदवार छन् । राष्ट्रीय ऊर्जाशील पार्टीबाट मनोज राजवंशी उम्मेदवार छन् । मंगोल नेशनल अर्गनाइजेसनबाट धनबहादुर लिम्बू, जनमत पार्टीबाट घनश्याम चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट माधवप्रसाद राजवंशी उम्मेदवार छन ।
यसैगरी, जनता समाजवादी पार्टी, नेपालबाट विनोदकुमार सिंह गनगाईं, राष्ट्रिय परिवर्तन पार्टीबाट धनबहादुर सुनुवार, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मेघेन्द्रकुमार रोक्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कन्सराज राजवंशी, श्रम संस्कृति पार्टीबाट अबुहो रैरह उम्मेदवार छन् । नरेशकुमार साह, अनिलकुमार साह र बुधु रिषिदेव स्वतन्त्र उम्मेदवार छन् ।
