काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने छ । आगामी फागुन २० देखि राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिँदै छ ।
पदावधि सकिने एक महिना अघि निर्वाचन गर्नुपर्ने प्रावधान अन्तर्गत निर्वाचन हुन लागेको हो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उक्त समयमा मनोनयन दर्ता प्रदेशगत रुपमा हुनेछ । राष्ट्रियसभामा एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, जसपा नेपाल र लोसपा नेपालका १–१ र एक स्थान मनोनीतको कोटा रिक्त हुन लागेको हो ।
एमाले सांसद इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बिसीको पदावधि सकिँदै छ ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठ, गोपीबहादुर अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा र राधेश्याम पासवान र बेदुराम भूसालको पदावधि सकिँदै छ ।
जसपा नेपालका मृगेन्द्रकुमारसिंह यादव र लोसपाका शेखरकुमार सिंहको पदावधि सकिँदै छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने कोटाबाट सांसद बनेका नेकपा नेता वामदेव गौतमको पदावधि पनि सकिँदै छ ।
रिक्त हुने १८ स्थानका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालले चुनावी तालमेल गरेर उम्मेदवारी दिने समझदारी गरेका छन् ।
