मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

बयान दिन आउन तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

काठमाडौं । जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ । आयोगले लेखकलाई पत्राचार गर्दै ११ पुसमा बयानका लागि बोलाएको हो ।

२३ भदौको जेन–जी आन्दोलनमा घातक हतियारबाट गोली चलाएर दमन हुँदा लेखक गृहमन्त्री थिए । बानेश्वर क्षेत्रमा मात्रै १७ जनाको ज्यान गएको थियो भने एक सयभन्दा धेरै घाइते भएका थिए । सो घटनाको नैतिक जिम्मेवारी लिँदै लेखकले सोही दिन बेलुका राजीनामा दिएका थिए ।

आयोग स्रोतका अनुसार मंगलबारै लेखकका एक सहयोगीले बयानसम्बन्धी पत्र बुझेका छन् । बयानमा जाने कि नजाने भन्नेमा लेखक छलफलमा छन् । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बयानमा नजान लेखकलाई दबाब दिइरहेका छन् ।

आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलगायतसँग बयान लिइसकेको छ । बयान सकिएपछि उनीहरूको स्थानहद पनि मंगलबारदेखि नै फुकुवा गरेको छ । ओली र लेखकको पनि बयान सकिएपछि स्थानहद फुकुवा गर्ने आयोगको तयारी छ ।

आइतबार बसेको आयोगको बैठकले ओली र लेखकसँग बयान लिने निर्णय गरेको थियो । सुरुमा लेखकसँग बयान लिने र उनको बयानको आधारमा ओलीलाई पत्र लेख्ने आयोगको तयारी छ ।

२३ र २४ भदौमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगले तीन महिना अवधि पूरा गरिसकेको छ । सो अवधिभित्र छानबिन नसकिएपछि एक महिना थप गरिएको छ । थपिएको अवधिभित्र प्रतिवेदन बुझाउने गरी काम भइरहेको आयोगका प्रवक्ता विज्ञानराज शर्मा बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज