काठमाडौं । केपी शर्मा ओलीले एमालेको नेतृत्वमा ह्याट्रिक गरेका छन् । अर्थात ओली एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका छन् ।
काठमाडौंमा भएको ११औं महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
ओली यसअघि २०७१ को नवौं महाधिवेशन र २०७८ को १०औँ महाधिवेशनबाट पनि अध्यक्ष निर्वाचित भएका थिए । आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
ओलीले बिहीबार नै सपथ लिएका छन् । शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
१९ सदस्यीय पदाधिकारी ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ओली पक्षकै वर्चस्व भएको छ । पदाधिकारीमा अधिकांश पुरानै अनुहारले नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा दुईबाहेक अन्य सबै पदाधिकारी ओली प्यानलबाट निर्वाचित बनेका छन्।
बुधवार भएको विद्युतीय मतदानबाट अध्यक्ष, चार उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र नौँ सचिव गरि १७ जना पदाधिकारी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट निर्वाचित भएका हुन्।
जसअनुसार अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा पृथ्वी सुब्बा गुरूङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, रघु जी पन्त विजयी भएका छन्।
त्यस्तै ओली प्यानलबाटै यसअघि महासचिव रहेका शंकर पोखरेल पुनः महासचिव निर्वाचित भए।
तीन जना उपमहासचिवमध्ये ओली प्यानलका दुईजना लेखराज भट्ट र रघुविर महासेठ विजयी भएका छन्। त्यसैगरि नौ सचिव पदमा सबै ओली प्यानलका विजयी भएका छन्। जसमा महेश बस्नेत, पद्यमा कुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कंडेल, राजन भट्टराई र भानुभक्त ढकाल छन्।
ओलीले एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्ने खतरा बढिरहेको बताएका छन्।
नेतृत्वमाथि भौतिक हमला भएको दिन देश ठप्प हुनुपर्ने र वर्तमान सरकार ढल्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।
एघारौं महाधिवेशनको समापन मन्तव्य दिँदै ओलीले यसका लागि तयार रहन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। ‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ,’ उनले भने।
