आइत, अशोज ११, २०८३
20.1 C
Kathmandu

भारतले निरन्तर मूल्य घटाएर पठाउदा पनि आयल निगम महँगोमा बेच्दैछ ग्यास

काठमाडौं । नेपाल आयल निगम (एनओसी) आर्थिक वर्ष ०८०/८२ देखि नै नियमित र सञ्चित नाफामा छ । तर, खाना पकाउने ग्यासको मूल्य विश्वबजारमै घट्दा र पछिल्लो समय भारतले समेत निरन्तर घटाएर पठाउँदा पनि निगमले भने दुई वर्षअघि तोकेकै दरमा बेचेर उपभोक्तामाथि अन्याय गरिरहेको छ ।

नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेभेम्बर र डिसेम्बरमा दुईपटक गरी प्रतिसिलिन्डर २८ रुपैयाँ घटाएर पठाएको थियो । नोभेम्बरमा प्रतिसिलिन्डर २० रुपैयाँ घटाएर पठाएकोमा डिसेम्बरमा थप आठ रुपैयाँले घटाएको निगम स्रोत बताउँछ । तर, एनओसीले दुई वर्षअघि तोकेको दररेट प्रतिसिलिन्डर १९१० रुपैयाँमै बिक्री गरिरहेको छ । जबकि ०८०/८१ मा चार अर्ब ८३ करोड सञ्चित नाफा गरेको आयल निगमले ०८१/८२ मा पनि करिब १४ अर्ब नाफा कमाएको थियो । चालू आवको पहिलो चार महिना (साउन–कात्तिक)मा पनि दुई अर्ब नाफा ‘बुक’ भइसकेको छ ।

पछिल्लोपटक आइतबार आइओसीबाट प्रतिसिलिन्डर आठ रुपैयाँले मूल्य घटेर आएकोमा निगमले सोही दिन साँझ जारी गरेको विज्ञप्तिमा मूल्य थपघटबारे केही उल्लेख गरेको थिएन । पेट्रोलको नयाँ मूल्यसमेत लुकाएको निगमले घटेर आएको डिजेल र बढेर आएको हवाई इन्धनको मूल्यबारे मात्रै नेपाली बजारमा समायोजन गरेको जानकारी दिएको थियो ।

उपभोक्ता अधिकारकर्मी विष्णु तिमिल्सिना सरकारी स्वामित्वको निगमले महँगीबाट आक्रान्त उपभोक्तालाई राहत दिनुको सट्टा मूल्य लुकाएर राख्ने र भाउ नघटाउने चरित्र देखाउनु उपयुक्त नभएको बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमै घट्दो ट्रेन्डमा ग्यासको भाउ
अमेरिकामा ग्यासको भाउ यो वर्षकै सबैभन्दा कम ३ डलर प्रतिग्यालेनमा आइपुगेको छ । समग्रमा तेल उत्पादन वृद्धि, तर मागमा कमी र विश्वव्यापाी आर्थिक अनिश्चितताका कारण एलपी ग्यासको भाउ घटेको हो । तेल निर्यातकर्ता देशहरूको संगठन (ओपेक प्लस) र अन्य देशले उत्पादन वृद्धि गरिरहेका छन् ।

अर्कातिर, कच्चा तेलको भाउ पनि तुलनात्मक रूपमा कम छ । आर्थिक अनिश्चितता हुँदा उद्योग कलकारखानाले खपत गर्ने ग्यासको परिमाणमा कमी आएको छ, जसकारण विश्वव्यापी तथा घरेलु बजारमा ग्यासको खपत पनि घटेको छ । विश्वबजारमा घटिरहेको ग्यासको मूल्यले अझै केही समय निरन्तरता पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज